Posts

Showing posts from November, 2021

सम्बन्ध

दूरीले माया बढाउँछ रे, हल्का रेखामा मात्र कोरिएका सम्बन्ध गाढा धर्सा बन्छन् रे सिसाले बनेका चित्रमा रङ्ग भरिन्छन् रे दुईटा भिन्न भूगोलबाट देखिने जून हेर्दा, त्यहि जूनमा सँगै भएझैँ आभास हुन्छ रे मधुरा माया चहकिला हुन्छन् रे हल्का खुसी अनि आँशु गहकिला हुन्छन् रे छुट्ने बेलाको गह्रौंपन हरेक दिन घट्दै जान्छन् रे हर एक पल भेट्ने दिनको प्रतिक्षामा व्यग्रता बढ्दै जान्छ रे तर, सन्दर्भ सधैं त्यही नहुँदो रहेछ जब पहिल्यै हल्का टाढिएका सम्बन्ध भौगोलिक रुपमा पनि टाढिन्छन्, तब, हल्का छायाँ पनि बिलाउँदै जाँदो रहेछ, टाढा भएर माया घट्दै जाने हो या, माया घट्दै गएकोले नै टाढा हुँदै जाने हो तर, यो भूगोलले टाढिन झन् सहयोग गर्ने रहेछ गाढा भएर पनि धमिलिन थालेका धर्सा अब मेटिन थाल्दा रहेछन् झन् भन्दा झन् मधुरा हुँदा रहेछन् टाढा, मात्र टाढा, एकदम टाढा हुँदा रहेछन् भेट्ने आशा त शुन्य, त्यो शुरुवाती बिदाईको भेट नै अन्तिम भैसकेको हुँदो रहेछ तब, मधुरो सम्बन्धलाई बिलाउन भूगोलले पनि साथ दिँदो रहेछ

समय सहि थियो

सोँचेको थिइनँ कहिले ढिलो, छिटो या अहिलेई तिमी भेटियौ कि यसरी भेटको समय सहि थियो। हराएको थिएँ कतै खोज्दै थिएँ जाने ठाउँ तिमी मै पुगेर रोकिएँ मनले गन्तव्य भेटेको थियो। यस्तो, त्यस्तो या कस्तो सोँचेको थिइनँ गुणहरु तिमीलाई पाएर थाहा पाएँ कि सधैं तिम्रै खोजी थियो। थाकेका थिए यि हात तिमीले समयमै थामिदियौ आइपुग्यौ तिमी कि यसरी आउने समय सहि थियो।।